


भैरहवा, १० माघ । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले घरपालुवा चौपाया छाडा छाडेकोले दुई जनालाई जरिवाना कारवाही गरेको छ । नगरमा छाडा चौपायाको संख्या बढेपछि पालिका त्यसको व्यवस्थापनमा लागेको छ । पालिकाका अनुसार हालसम्म ७८ वटा छाडा गाईगोरु व्यवस्थापन गरिएको छ ।
यसैक्रममा छाडा छाडिएको चौपाया आफ्नो दावी गर्न आएका दुई जनालाई जनही सात हजार रुपैयाँ जरिवाना कारवाही गरी पुनः छाडा नछाड्ने सर्तमा चौपाया फिर्ता दिइएको सिद्धार्थनगर नगरपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।

नगरमा छाडा रुपमा देखिएका चौपायाहरुलाई पालिकाको अस्थायी होल्डिङ सेन्टरमा हुँदै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा स्थित गौशालामा व्यवस्थापन गर्ने गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
छाडा चौपायाका कारण समस्या बढेपछि व्यवस्थापनका लागि अभियान थालिएको नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए।

