
लुम्बिनी, १४ माघ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले लुम्बिनी भ्रमण गरेको छ । समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यहरुले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् ।
अर्थसमितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिमार्गीहरुको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरुले चासो राखेको बताए । उनले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर बाँकी रहेको कामका लागि बजेट अभावका बिषयमा आफूहरुले ध्यान दिने समेत बताए ।
Advertisement

Advertisement
Advertisement

उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे सांसदहरुलाई जानकारी गराए । लुम्बिनीको पुरातात्विक, धार्मिक र साँस्कृतिक महत्वबारे जानकारी गराउँदै लुम्बिनीलाई पछिल्ला बर्षमा बजेटमा भएको कटौतीका बारेमा समेत ध्यानआर्कषण गराएको शाक्यले बताए ।
सांसदहरुले मायदेवीको दर्शन, पवित्र पुष्करणीपोखरी, अशोकस्तम्भ, केही विहार क्षेत्रहरुको भ्रमण गरेका थिए । भन्सार विधेयकका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया र सुझाव संकलनका लागि नेपालगञ्ज, कृष्णनगर हुँदै भैरहवामा आएको समितिका सांसदहरुले लुम्बिनी भ्रमण गरेको अर्थसमितिका सचिव रेखा उपाध्यायले जानकारी दिइन् ।

