
भैरहवा, १४ माघ। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले सानदार जित निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा लुम्बिनी खुकुरीले प्रोफेसनल मास्टर्स–११ लाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनी खुकुरीले निर्धारित ३० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८५ रनको बलियो योगफल बनायो । उसको लागि प्रज्वल थापा र शंकर रानाले अर्धशतकीय इनिङ खेले । थापाले ८४ रन बनाउँदा रानाले ७२ रन बनाए । यस्तै, निश्चल चौधरीले ११ रन बनाए । बलिङमा प्रोफेसनलका जयप्रताप यादवले २ तथा कृष्ण पराजुली, अख्तर हुसेन र करण साहनीले १–१ विकेट लिए ।
Advertisement

Advertisement
Advertisement

प्रोफेसनलले जवाफी ब्याटिङ गर्दै १९ ओभर ५ बलमा ६७ रन बनाउँदै अलआउट हुन पुग्यो । प्रोफेसनलका अजयकुमार चौहानले ४, सहदेश जिसी र आरिफ खानले २–२ तथा सहजाद आलम र साहब आलमले १–१ विकेट लिए । प्रोफेसनलका इमरान खानले २२, अजय रसाइलीले १३ र तुसार चौहानले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा जोड्न नसक्दा टिमले लज्जास्पद हार ब्यहोर्यो । खेलमा प्रज्वल थापा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

