


भैरहवा,१५ माघ। रोट्रर्याक्ट क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष प्रकाश गैरे शर्मा रोट्रर्याक्ट डिस्ट्रिक ३२९२ नेपाल–भुटानको डिआरआर पदमा निर्वाचित भएका छन् । शर्मा विगत १२ वर्षदेखि रोट्रर्याक्ट क्लबमा आबद्ध भई काम गर्दै आएका छन् ।
१८ वर्षदेखि ३५ वर्षको युवाको उमेर समूहमा रहेको यस संस्थाका देशभर हाल १७० भन्दा बढी शाखाहरू छन् भने करिव ७ हजार सदस्य छन् । हालै सम्पन्न १७ औ राष्ट्रिय सम्मेलन मार्फत नयाँ नेतृत्व चयन भएको हो । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्दैमा २ दिनसम्म चलेको उक्त सम्मेलनबाट शर्मा डीआरआर पदमा चयन भएका हुन् । शर्मा युनाइटेड अजोड इन्स्योरेन्सका लुम्बिली प्रदेशका नायब प्रदेश प्रमुख हुन् । यस्तै, लुम्बिनी साना तथा मझौला ढुवानी ब्यावसायी संघ बुटवलका सल्लाहकार साथै निप्स बुद्धभूमी च्याप्टरका महासचिव हुन् ।

नेपाली काँग्रेसका नेता एबम् सांसद चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलन युवा, राजनीति र अबको देश शिर्षकको प्यानल सेसनमा सांसदहरु ज्ञानेन्द्र शाही, ठाकुर गैरे, सञ्जयकुमार गौतमले युवाहरूका लागि राजनीतिक नेतृत्वका चुनौती र अवसरहरूबारे गतिशील छलफल गरेका थिए । वक्ताहरूले शासन, नीतिनिर्माण र समाज परिवर्तनमा युवाको सक्रिय सहभागिताको महत्ववमा जोड दिए । उनीहरूले युवा नेताहरूलाई पारदर्शी र समावेशी राजनीतिक प्रणाली निर्माण गर्न आह्वान गरे ।
माइण्ड म्यानेजमेन्ट प्यानल सेसनमा, आईएस्कन नेपालका सचिव रूपेश्वर गौर दास, आध्यात्मिक प्रशिक्षक चैतन्य कृष्ण र मानसिक स्वास्थ्य उत्प्रेरक श्रेया गिरी सहभागी थिए । प्यानलले भावनात्मक दृढता र मस्तिष्कको शान्तिमाथि ध्यान केन्द्रित गरेको थियो । विशेषज्ञहरुले तनाव व्यवस्थापन, आत्म शान्ति र मानसिक सन्तुलन कायम राख्नका लागि विभिन्न विधिहरु प्रस्तुत गरेका थिए । साथै प्रमुख बक्ताको रुपमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग, बैंकर सिए मनोज ज्ञवाली लगायतले युवा नेतृत्व बिकास र युवा सम्भाब्यताबारे धारणा ब्यक्त गरेका थिए ।
उक्त सम्मेलनमा देशभरका १७० बढी क्लबका करिब १ हजार २ सय भन्दा धेरै रोट्रर्याक्ट युवाहरुको सहभागिता थियो । रोट्रर्याक्ट नेपालले युवा नेतृत्व, शिक्षा क्षेत्र र दैबीप्रकोपका समयमा सहयोग गर्दै आएको छ ।

