

सलमान खान
भैरहवा, १६ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिसमेतले पालिकालाई आम्दानी हुने राजस्व छलेर व्यक्तिगत रुपमा आर्थिक लेनदेन गरी ठेक्काको ‘म्याद थप’ (सम्झौताका लागि सहमती) गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा उजुरी परेको खुलेको छ ।
जनप्रतिनिधीसहित श्री नारायणस्थान मन्दिर संचालक समितिका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी र निर्माण व्यवसायी रहेका व्यक्तिविरुद्ध कार्यालयमा केही दिन अघि उजुरी परेको स्रोतले पुष्टि गरेको छ ।



स्रोतका अनुसार जिल्ला अदालत रुपन्देहीमा जालसाजी मुद्दा खेपिरहेका सिद्धार्थनगर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, वडा नं. ८ का वडाअध्यक्ष राजनजंग राणासमेत जनप्रतिनिधी, श्री नारायणस्थान मन्दिर समितिका अध्यक्ष विष्णुप्रसाद उपाध्याय, समितिका पूर्वअध्यक्ष भविलाल पौडेल, सचिव पवन पौडेल, सफिक निर्माण सेवाका प्रोप्राईटर हफिज अलि मुसलमानविरुद्ध उजुरी परेको हो । ‘पालिकाका तीन जना जनप्रतिनिधिहरुविरुद्ध उजुरी परेको हो’,स्रोतले भन्यो,‘जसमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।’
वर्षौ अघि भैरहवाको लुम्बिनी सडक किनारमा किसान/व्यवसायीहरु यत्रतत्र छरिएर तरकारी तथा फलफुल विक्री वितरण गर्दै आएपछि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले त्यसलाई व्यवस्थित रुपमा संचालन गर्न यूनडिपीको शहरी वातावरणका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपीयूई) कार्यक्रम परियोजनासँग सम्झौता गरेको थियो ।
र, पालिकाले श्री नारायणस्थान मन्दिर समितिसँग हाल बजार (मायादेवी तरकारी तथा फलफुल बजार/कान्छी बजार) संचालित रहेको जग्गा २५ वर्षको लिज करारमा सम्झौता गरी ठेक्का आह्वान गरेर १५ वर्ष ५ महिना (एक वर्ष निर्माण अवधि समेत) का लागि ०६४ बैशाख २६ गते सफिक निर्माण सेवासँग सम्झौता गरेर बजार संचालनमा ल्याएको उजुरीमा उल्लेख छ । जसको म्याद गत ०७९ असोज १६ गते समाप्त भएको थियो ।
ठेक्का म्याद समाप्त भएपश्चात उक्त जग्गाको लिज अवधि उजुरीमा उल्लेख अनुसार अझै ९ वर्ष ७ महिना बाँकी थियो । बजार संचालनका लागि नगर विकास कोषको समेत ऋण लगानी भएको जग्गामा ‘आफ्नो स्वामित्व’ (उजुरीमा उल्लेख अनुसार) मै रहेको अवस्थामा पालिकाले आयस्रोत थप मजबुत बनाउनका लागि पुनः कानुनी प्रक्रिया अनुसार बजार संचालनका लागि ठेक्का अह्वान गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।
तर, निर्माण व्यवसायीसँग बजार ठेक्काको म्याद समाप्त भएको मितिबाट मन्दिर व्यवस्थापन समितिले (बजारमा निर्मित भौतिक संरचनासहितको जग्गा) आफ्नो स्वामित्वमा लिएर तरकारी बजार व्यवस्थापनका साथै आफै राजस्व उठाउने काम गरिरहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।
उजुरीमा भनिएको छ–‘जग्गाको २५ वर्षको लिज करार अवधि बाँकी रहँदा रहँदै पनि बजारबाट आम्दानी हुने पालिकाको राजस्वमा ठुलो असर पारी कार्यपालिका बैठकको निर्णय विना नै विपक्षीहरु एकआपसमा आर्थिक लेनदेन गरी पुनः सोही ठेकेदार (सफिक निर्माण सेवा) सँग २ वर्षको सम्झौता गरी भ्रष्टाचार गरेको जनमानसमा व्याप्त छ ।’
दुई वर्षको सम्झौता गर्नका लागि पालिकाका जनप्रतिनिधिले कार्यपालिका बैठकलाई ‘बाइकट’ गरी समितिका पदाधिकारी र ठेकेदारको संयुक्त बैठकले ‘गोप्य सहमती’ गरेको थियो । अदालतले समेत प्रमाणित गरेको उक्त ‘गोप्य सहमती’ पत्रको प्रतिलिपि क्लिक लुम्बिनीलाई प्राप्त भएको छ । त्यसपछि मन्दिर समिति र सफिक निर्माण सेवाबीच दुई वर्षका लागि सम्झौता भई बजार संचालन भएको थियो ।
‘सफिक निर्माण सेवाका प्रोप्राइटर हफिज अलि मुसलमानले वार्षिक बहाल रु.१२,५२,५००/–(करबाहेक) नारायणस्थान मन्दिर व्यवस्थापन समितिलाई बुझाउने छ’, प्राप्त ‘गोप्य पत्र’को बुदाँ नं. २ मा लेखिएको छ,‘साथै सो बापत लाग्ने बहाल कर दश (१०%) नगरपालिकालाई बुझाउने सहमती गरियो ।’
‘…सिद्धार्थनगर नगरपालिका नगर कार्यपालिकाको कहिले र कसको अध्यक्षतामा बसेको बैठकबाट बजारमा निर्मित भौतिक संरचनासहितको जग्गा कसलाई हसान्तरण गरिएको हो? कार्यपालिका बैठकको निर्णय र बैठकमा उपस्थितीको प्रमाणित प्रतिलिपि समेत सूचनाको हक प्रयोग गरेर सिद्धार्थनगर नगरपालिकाको कार्यालयसँग सूचना माग गर्दा कार्यालयले यस सम्बन्धमा सूचना उपलब्ध गराउन मानेन ।
उजुरीमा उल्लेख भए अनुसार हाल पनि नगरपालिकाकै स्वामित्वमा रहेको, उक्त जग्गाको लिज करार सम्झौता रद्द गरिएको (तोडिएको) छ न त कसैलाई हसान्तरण नै । जुन विषयमा नगरपालिका कार्यालयले पनि सूचना उपलब्ध नगराएर माग गरिएको प्रश्नको जवाफमा ‘मौन समर्थन’ देखाएर ‘नाजवाफ’ छ । तर, पनि मन्दिर समितिले उक्त जग्गामा बजार संचालनका लागि वार्षिक साढे ६६ लाख बढी रुपैयाँमा ठेक्का सम्झौता गर्दा पनि नगरपालिकाको कार्यालय ‘मौन’ देखिएको छ ।
उक्त जग्गाको लिज करार समेत रद्द नभएको अवस्थामा नै श्री नारायणस्थानले बजार संचालनका लागि बोलपत्र आह्वान गरी ठेक्का लगाएको छ । जसको आम्दानी समेत आफैले लिएको छ । तर, ठेक्का प्रक्रिया नमिलेको भन्दै त्यसमा पनि जिल्ला अदालत रुपन्देहीमा रिट दायर भएको छ ।
साथै, मन्दिर समितिले आह्वान गरेको बोलपत्र पश्चात २९ थान गैरकानूनी खरिद ऐन नियमावलीको बर्खिलापमा टेण्डर दाखिला भएको उजुरीमा उल्लेख छ । आर्थिक अनियमितता तथा राजस्व छली सम्बन्धमा छानबिन गरी दोषीलाई उजुरीमा कारवाहीको माग समेत गरिएको छ ।
नगरपालिकाको कार्यालय र मन्दिर समितिबीच बजार व्यवस्थापन तथा संचालनका लागि २५ वर्ष लिज करार अवधि रहेको उजुरीमा उल्लेख गरिएपनि नगरपालिकाको कार्यालयसँग जग्गा लिजको समयावधी र त्यससम्बन्धमा दुवै पक्षबीचको सम्झौताको प्रमाणित प्रतिलिपि सूचना माग गर्दा कार्यालयले उपलब्ध गराउन मानेन ।
सिद्धार्थनगर नगरपलिका नगर कार्यपलिकाको कार्यालयका प्रवक्ता मुक्तिनाथ यादवसँग पनि बजार व्यवस्थापन तथा संचालनका लागि पालिकाले जग्गा लिज करारमा लिएको समयावधीको विषयमा प्रश्न गर्दा उनले आफु कार्यपालिकाको बैठकमा रहेको र बुझेर पछि जानकारी गराउने भन्दै पन्छिए ।