
भैरहवा, २२ माघ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७औं स्थापना दिवसका अवसरमा मंगलबार नगरपालिकाले भैरहवास्थित गणतान्त्रिक सभागृहमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ ।
स्थापना दिवसको मूल समारोहमा बोल्ने वक्ताहरुले नगरपालिकालाई औद्योगिक एवं पर्यटकीय हवका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि नगरपालिका अब्बल बन्दै गएको भन्दै वक्ताहरुले पर्यटनलाई विशेष प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राखे ।
Advertisement

Advertisement
Advertisement

जिल्ला समन्वय समिति सभापति उमाकान्त चपाईंले आर्थिक, सामाजिक र पर्यटकीय विकासमा नगरपालिकाले गरेका काम प्रशंसायोग्य रहेको जनाए । मानव संसाधानको विकास गरी नगरलाई पर्यटनको हब बनाउनुपर्ने उनको सुझाव छ । ‘भारतसँग सीमा जोडिएका कारण पनि नगरमा पर्यटनको सबैभन्दा राम्रो सम्भावना छ’, उनले भने, ‘यसका लागि सबै जनप्रतिनिधि एकढिक्का भएर काम गरे नगरले पर्यटनका माध्यमबाट आफ्नो पहिचान स्थापित गर्नसक्छ ।’ उनले जनप्रतिनिधिहरु जनताका कामप्रति कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुम खेलराज पाण्डेले आमनागरिकमा स्थानीय सरकारप्रति थप विश्वास बढीरहेकाले कार्यसम्पदान चुस्त हुनुपर्नेमा जोड दिए । नगरले पछिल्ला वर्षहरुमा गरेको भौतिक, मानवीय र अन्य विकास सह्रानीय रहेको जनाउँदै औद्योगिक र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर विकासका काम अघि बढाउन उनले सुझाए ।
सिद्धार्थनगर प्रमुख इश्तियाक अहम्मद खाँले स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग–व्यापार, वातावरण लगायतलाई आफूहरुले प्राथमिकतामा राखेको जनाए । ‘नगरलाई सुन्दरीकरण गरी अधिक पर्यटक यहाँ आउने वातावरण सिर्जना गर्न हामी लागि परेका छौं’, उनले भने, ‘निजी क्षेत्र र आमनगरबासीको साथ लिएर काम गरिरहेका छौं । आउँदा दिनमा पनि यहाँहरुको सहयोगको अपेक्षा राखेका छौं ।’
उनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत भएकाले यहाँ पर्यटनको अधिक सम्भावना रहेको उल्लेख गरे । भारतीय पर्यटकले सीमा क्षेत्रमा पाउँदै आएको दुःखलाई अन्त्य गर्न सबै सरकारी निकायसँग समन्वय गरेर काम गरिरहेको उनको भनाई छ ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद ढकालले सिद्धार्थनगर पर्यटनका लागि नै बनेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे । पालिकाले गरेको कार्यसम्पदान उत्कृष्ट रहेको उल्लेख उनले गरे । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्याल र कपिलवस्तुको बाणगंगा नगरपालिका उपप्रमुख रीताकुमारी चौधरीले सिद्धार्थनगरको विकास मुलुकमै हेर्न लायक भएको जनाए ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले नगरपालिकाले पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइन् । उनले महिलाहरुलाई हरेक क्षेत्रमा नेतृत्व लिएर अघि बढ्न आग्रह गरिन् । नगरपालिकाको टिमवर्कका कारण धेरै राम्रा र सकारात्मक कामले गति लिएको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, प्राध्यापक डा.गितु गिरी, पूर्वनगर प्रमुखहरु हरिप्रसाद अधिकारी, सागरप्रताप राणा, नेकपा एमाले सिद्धार्थनगर अध्यक्ष चक्रबहादुर थापा, वडा नं. ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, ४ का वडाध्यक्ष मुक्तिनाथ यादव, २ का छेदीलाल श्रीवास्तवले बोल्दै नगरको विकासमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले सिद्धार्थनगर पश्चिम नेपालकै बाणिज्य द्वार रहेको जनाए ।
कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ संजाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बोल्दै निजी क्षेत्र सधैं नगरपालिकासँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको जनाए । उनीहरुले यहाँको सम्भावना औद्योगिक र पर्यटन क्षेत्र रहेको चर्चा गर्दै यसका लागि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने सुझाव दिए । निजी क्षेत्रले नगरका हरेक काममा सहकार्य गर्ने उनीहरुको भनाई छ ।
कार्यक्रममा तीन पटक वा सो भन्दा बढीपटक वडाध्यक्षमा निर्वाचित पूर्व तथा वर्तमान वडाध्यक्षहरु भीमसेन कर्माचार्य, शेषकान्त भण्डारी, दीलिपकुमार यादव तथा पूर्वनगर प्रमुख, उपप्रमुखहरुलाई सम्मान गरिएको थियो । यस्तै, प्रमुख प्रशसकीय अधिकृत जनक थापा, विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संघसंस्थाका प्रमुख तथा समाजसेवीहरुलाई समेत सम्मान गरिएको थियो ।
यस्तै, संघसंस्थाहरुबाट नगरमा धेरै कर बुझाउने भैरहवा मेडिकल कलेज र व्यक्तिगततर्फ धेरै कर बुझाउने गोमादेवी पौडेल उप्रेतीलाई पनि सम्मान गरिएको कर्मचारी प्रशासन महाशाखाका प्रमुख देव ज्ञवालीले जानकारी दिए । मूल समारोह अघि भैरहवाका ४० बढी संघसंस्थाहरुको उपस्थितिमा नगरपालिकाको कार्यालयदेखि गणतान्त्रिक सभागृहसम्म प्रभातफेरी समेत गरिएको थियो ।

