


भैरहवा, २४माघ । क्यान्सर रोग न्यूनीकरणका लागि आम नागरिकलाई रोगका बारेमा सचेतना गराउन आवश्यक रहेको विश्व क्यान्सर दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छ्न।
प्रस्तावित सुमित्रा मैमोरियल क्यान्सर हस्पिटलको आयोजना र सिद्धार्थनगर सिटी अस्पतालको सहकार्यमा आयोजित कार्यक्रमका सहभागीले उक्त कुरा बताउँदै सबैमा जनचेतना पुर्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथी रोहिणि गाउँपालिकाको अध्यक्ष विद्या प्रसाद यादवले आम जनसमुदायमा क्यान्सर सम्बन्धी जनचेतना आवश्यक रहेको बताए । क्यान्सर सम्बन्धी जति जनतालाइ बुझाउन सकियो त्यति क्यान्सर बिरामी घटाउन सकिने बताउँदै क्यान्सर रोगका विरुद्धमा जनचेतना लगायतका क्षेत्रमा मिलेर काम गर्न रोहिणी गाउँपालिका तयार रहेको जनाए । उनले निर्माणाधिन क्यान्सर अस्पतालको संचालनमा आएपछि येस क्षेत्रका साथै अन्य क्षेत्रका सर्वसाधरणलाई पनि उपचारमा सहज हुने बताए ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराईले क्यान्सर लागेर उपचार गर्नुभन्दा पनि रोग लाग्नै नदिनु उपाय तर्फ सबै लाग्नु पर्ने र सचेतना बढी भन्दा बढी फैलाउनु पर्नेमा जोड दिए । क्यान्सर सरुवा रोग नभएको बताउँदै रोग लागिसकेपछि बिरामीको आत्मबल, पारिवारिक साथ, खानपान तथा जीवनशैलीले गर्दा रोगलाई जित्न सकिने उनको भनाई छ ।
विगत १८ महिना देखि क्यान्सर रोग लड्दै आएका पत्रकार मनोरञ्जन शर्माले निरोगीमा नमात्तिन र रोग लागेमा नआत्तिन आग्रह गर्दै क्यान्सर रोग लाई समाजले महाघातक रोगको रुपमा प्रस्तुत गरिदिदा क्यान्सर बिरामीलाई हेर्ने दृष्टिकोण फरक भएको जनाउँदै बिरामीलाई हेयको दृष्टिले नहेर्न आग्रह गरे । नियमित ब्याम, गुणस्तरीय खानपान, आत्मविश्वास, पारिवारिक मायाले क्यान्सर जित्न सकिने उनले बताए। शर्माले आम जनसमुदायमा क्यान्सर रोगको बारेमा ग्रामिण तह सम्म सचेतना फैलाउन आवश्यक रहेको बताए ।
पन्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले क्यान्सर रोगकै कारण आफुले सबैभन्दा नजिकको मान्छे गुमाएको पीडा आफुसँग ताजै रहेको बताउँदै जनचेतनामूलक कार्यक्रम निकै आवश्यक रहेको उल्लेख गरे । उनले सुमित्रा मेमोरियल क्यान्सर अस्पतालले छिटै सेवा सुरु गर्ने गरी काम अघि बढाउन शुभकामना समेत दिए ।
सिद्धार्थनगर सिटी अस्पतालका विशेषज्ञ चिकित्सक एवम सर्जन डा. हरि कार्कीले क्यान्सर रोगको बारेमा जानकारी दिदै बिरामी परेपछि उपचार गर्नुभन्दा समय समयमा आफ्नो स्वास्थ्यको जानकारी लिनुपर्ने बताउँदै चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए ।

सुमित्रा मैमोरियल क्यान्सर हस्पिटलका सस्थापक तथा सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले क्यान्सर सम्बन्धी सर्वसाधारणलाई जागरुक गराउन जनचेतना मुलक कार्यक्रम आफुहरुले आयोजना गरेको बताउँदै प्रस्ताबित क्यान्सर हस्पिटल संचालनपछि यस क्षेत्रका क्यान्सरका बिरामीलाइ उपचारमा सहज हुने जनाए । क्यान्सरकै कारण आफ्नो आमा गुमाउनु परेको उनले स्मरण गर्दै दुई वर्ष भित्र सेवा प्रदान गर्ने लक्ष्यसछि भैरहवा क्षेत्रमा सुमित्रा मेमोरियल क्यान्सर हस्पिटल छिट्टै संचालनमा ल्याउने गरी काम भैरहेको बताए ।
अन्तरक्रिया अघि सानू डिपार्टमेन्टल चोकबाट क्यान्सर विरुद्धको जनचेतनामुलक र्याली निकालिएको थियो । र्यालिले भैरहवा बजारको विभिन्न क्षेत्र हुदै सिद्धार्थनगर सिटी अस्पतालमा पुगेर टुंगिएको थियो । जनचेतना मुलक र्यालीमा ओम साइ नर्सिङ कलेजका छात्रा एवं शिक्षिकाहरु, अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, वडा प्रहरी कार्यालय, लियो क्लब अफ सिद्धार्थनगर, पञ्चकन्या ग्रुप, रोटरी क्लब अफ सेन्टर लुम्बिनी लगायतको सहभागी थियो ।

