


भैरहवा, १ फागुन । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा भैरहवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्य तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको प्राविधिक सहयोगमा शिविर भएको हो ।
प्रहरी कर्मचारी तथा प्रहरी परिवारका सदस्यहरुका लागि शिविर आयोजना गरिएको नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–१३ स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रांगणमा भएको शिविरमा ३०७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तचाप, मधुमेह, नाक, कान, घाँटी, हाडजोर्नी, मुटुरोग, स्त्री रोग, नशा रोग सम्बन्धि चेकजाँच गरिएको आयोजकको भनाइ छ ।


नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष नविना कार्की खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रुपन्देहीका एसपी रंजितसिंह राठौर, युसीएमएसका क्याम्पस कोर्डिनेटर तेज कुमार केसी, डा. राहुल यादव, डा. सम्वाद खरेल, डा.प्रशान्त दिवेद्वी, डा. प्रकाश श्रेष्ठ, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, पत्रकार, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनीका पदाधिकारी, प्रहरी कर्मचारी, परिवार लगायतको उपस्थिति रहेको थियो ।

