


भैरहवा, ४ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले मेयर आवास कार्यक्रम अन्र्तगत विपन्न नागरिकहरुका लागि घर (आवास) निर्माण कार्य जारी राखेको छ ।
कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा पालिकाका विभिन्न वडाका ७ घर परिवारका लागि सात वटा घरको निर्माण कार्य भइरहेको नगरपालिकाका ईन्जिनियर साकार श्रेष्ठले बताए । टिनको छानो भएको घरमा बाथरुम, किचन, बेडरुमसहित एक परिवारलाई बस्न मिल्ने सुविधायुक्त बनाएर हस्तान्तरण गरिने बताइएको छ ।

नगरमा कोही पनि घरबारबिहिन नहुन भन्ने उद्देश्यले विपन्न परिवारका लागि मेयर आवास कार्यक्रम लागु गरिएको पालिकाले जनाएको छ ।‘नगरभित्र कोही पनि घरबारबिहिन नहोउन् र सबैको आफ्नै छानो होस् भन्ने हाम्रो चाहना र परिकल्पना हो,’ सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले भने’,‘त्यसैले यो कार्यक्रम लागु गरेका हौँ ।’
बजेट अभावका कारण एकैपटकमा धेरैलाई समेट्न नसकिएकाले आगामी दिनमा बजेट बढाएर कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनको भनाई छ

