


हृदयराम गुप्ता
मर्चवार, ९ फागुन रुपन्देहीको सम्मरीमाई गाउँपालिका–२ बनगाईमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । चार जना सवार युपी ५५ क्यू ८४३२ नम्बरको मोटरसाइकल निर्माणधिन कल्र्भटको खाल्डोमा खस्दा सम्मरीमाई गाउँपालिका–१ को ज्ञानमती चमारको मृत्यु भएको भएको रुपन्देहीको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिए ।

मोटरसाइकलमा सवार सोही स्थानका इन्द्रजित चमार, युवराज चमार, मनिषा हरिजन घाइते भएको र उनीहरुको भैरहवास्थित यूनिर्भसल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयहरुका अनुसार निर्माण व्यवसायीले निर्माण स्थलमा दुर्घटनाबाट जोगिनका लागि रेडियम स्टिकर, बोर्ड लगायत आवश्यक जानकारीमूलक वस्तु नराख्दा सवारी दुर्घटना भएको हो । सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले विगत दुई सातादेखि निर्माणधिन कल्र्भटको विषयमा अधिकांश स्थानीयको जानकारीमा रहेकोले दुर्घटना नहुनुपर्ने तर्क गरे ।
योजना निर्माणको ठेक्का पाएका सबिना निर्माण सेवाका संचालक अहमद अली साहले निर्माण स्थलमा सूचना बोर्ड र ‘बाटो परिवर्तन’ लिखित माध्यमले जानकारी दिइएको बताए। ‘निर्माण कार्यबारे स्थानीयहरुलाई जानकारी छ । निर्माणस्थल भन्दा अघिनै ‘बाटो बन्द’ र ‘बाटो परिवर्तन’ भएको जानकारी सहितको बोर्ड पनि राखेका थियौँ’,उनले भने–‘तर उक्त जानकारीलाई नजाने झै गर्दा सुवारी दुर्घटना हुन पुग्यो ।’

