


भैरहवा, ९ फागुन । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनालाई लिएर विद्यार्थी संगठनहरुले भैरहवामा मसाल जुलुस निकालेका छन् । साथै, मृतक लम्सालको सम्झनामा दीप प्रज्वलन समेत गरेका छन् ।
प्रकृति बहिनीलाई न्याय दे, विद्यार्थीप्रतिको अन्याय सहदैनौं, केआईआईटीलाई प्रतिबन्ध गर लगायातका नाराबाजी गर्दै निकालिएको मसाल जुलुस भैरहवाको देवकोटा चोकमा पुगेर सभामा परिणत गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डेले घटनाप्रति दुःख व्यक्त गर्दै केआईआईटी विश्वविद्यालयमा विद्यार्थी पठाउने रुपन्देहीका कन्सलटेन्सीको छानबिन गर्ने र यदि केआईआईटी विश्वविद्यालयमा विद्यार्थी पठाएको पाइए उक्त कन्सलटेन्सीहरुलाई निषेध गरिने बताए । साथै, कन्सलटेन्सीहरुले केआईआईटीमा विद्यार्थी पठाउन नरोके उक्त कन्सलटेन्सीहरुमा तालाबन्दी गरिने चेतावनी दिए।
नेपाल विद्यार्थी संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सभापति नवराज अर्यालले मृतक लम्सालले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताए । मसाल आगोको सानो संकेत मात्र रहेको भन्दै उनले न्याय नपाए जिल्लाभर आन्दोलन गर्ने चेतावनी दिए ।
लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रिय सचिव जैनुद्दिन देवानले केआईआईटी विश्वविद्यालयलाई रुपन्देहीमा जिल्ला प्रतिबन्ध लगाउन माग गरे । अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी)को भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका अध्यक्ष मनिष ढकालले घटनाको निश्पक्ष छानबिन गरेर दोषीमाथी कडा कारवाही हुनुपर्ने माग गरे ।
विद्यार्थीद्धारा निकालिएको मसाल जुलुस रोक्नका लागि प्रहरीले हस्तक्षेप गरेको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ रुपन्देहीका कोषाध्यक्ष रोशन थापा, संघको सिद्धार्थनगर उपसभापति विराट गुरुङ, संघको रुपन्देही क्याम्पस ईकाइ समितिका सभापति विधान भुर्तेल, संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सचिव उमर बादशाह, लोकतान्त्रिक विद्यार्थी संघका रुपन्देही संयोजक अमन बनिया, अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी)को भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सचिव अंकित पौडेल लगायतका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

