
भैरहवा, १५ फागुन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले सरसफाईको दिगो व्यवस्थापनको लागी समुदाय एवं जनसहभागिता महत्वपूर्ण हुने बताएका छन्।
बङ्गलादेशको राजधानी ढाकामा आयोजित अन्तरदेशीय स्वस्थ्य तथा सरसफाई सम्बन्धी ट्वाईलेट कनफ्रेन्स सम्मेलनलाई सम्बोधन गर्दै उनले सरसफाई कार्यक्रम सञ्चालन गर्न जनताको सहभागिता महत्वपूर्ण हुने बताएका हुन । ‘राम्रो स्वच्छता र उचित फोहोर डिस्पोजललाई प्रोत्साहित गर्दै हामी विद्यालय र छिमेकमा नियमित रुपमा जागरुकता अभियानहरु चलाउँछौँ’,उनले भने, ‘समुदाय नेतृत्वको कार्यक्रमहरुले घरपरिवारलाई शौचालय निर्माण र प्रयोग गर्न मद्दत गरेको छ र महिला समूहहरुले सरसफाई सुविधाहरु कायम राख्न ठूलो भूमिका खेलेको छ।दुवै अनसाइट र अफ-साईट सरसफाई मूल्य श्रृङ्खलालाई पनि प्राथमिकता दिइन्छ।’
Advertisement

Advertisement
Advertisement

उनले एसियाका सहरहरु तीव्र गतिमा बढ्दै गएको र सन् २०३० सम्ममा ५५ प्रतिशत भन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्ने दावी गरे । उनले त्यसबेला उच्च जनसङ्ख्या घनत्व र सहरी विस्तारका साथ मानव फोहोरको विशाल मात्राको व्यवस्थापन अझ चुनौतीपूर्ण हुँदै जाने बताए । त्यसलाई मध्यनजर गर्दै अहिलेनै स्वास्थ्य एवं सरसफाईको लागी सबैको साझा प्रयासबाट निकर्ष निकाले कार्यानवयनमा जानु पर्ने उनले बताए ।
उनले अझै पनि हाम्रा अधिकांश सहरहरुमा, परम्परागत ढल सञ्जालहरुले प्रायः नयाँ वा अनौपचारिक बस्तीहरुलाई सेवा दिन नसकेको उल्लेख गर्दै सरसफाईमा महिला र सुविधाविहीनको सहभागिता पनि दिगो विकासका लक्ष्य ६ दश्मलव २ प्रतिशत हासिल गर्न चुनौती बनेको दावी गरे।
‘हाम्रो सहर बढ्दै जाँदा, धेरै सफलताका कथाहरु र अन्य सहरहरु जस्तै हामीले पनि सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा चुनौतिहरुको सामना गरिरहेका छौं’,उनले भने ‘तर हामी वित्तपोषण सुधार गरेर समुदायलाई संलग्न गरेर र निजी क्षेत्रसँग काम गरेर प्रगति गरिरहेका छौं।’ उनले स्थानीय उद्यमीहरुले किफायती पर्यावरण-मैत्री शौचालय र फोहोर-देखि–ऊर्जा परियोजनाहरु जस्ता उत्कृष्ट विचारहरु लिएर आउनुपर्ने बताए।

