
काठमाडौ,१५फागुन। काठमाडौंमा बिहीवारदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानूनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने उद्देश्य लिइएको महान्यायाधीवक्ता रमेश बडालले बताए।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार सम्मेलनमा नेपालसहित, संयुक्त राज्य बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरुको सहभागिता रहेको छ।
नायब महान्यायाधिवक्ता टेकराज घिमिरेका अनुसार हाल साइबर संसारमा हुने अपराधको ५ प्रतिशत मात्र हाम्रो साइबर अपराध बारेको ऐनले समेट्छ। डिजिटल संसारमा हुने अपराधलाई अन्य देशले कसरी समेटेका छन् ? के–कसरी नियन्त्रण, अभियोजन हुँदै छ? भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ।
सम्मेलनमा ४ वटा प्लेनरी सत्र, ८ वटा समानन्तर सत्रमा १६ वटा कार्यपत्रहरु उपर छलफल हुनेछ।प्रविधिमार्फत हुने यौनजन्य हिंसा, साइबर अपराध, डिजिटल ठगी तथा वित्तीय अपराध, अनलाइन शोषण, व्यक्तिगत गोपनियता उल्लंघन, डिजिटल प्रमाण संकलनका विधि, अन्तर्राष्ट्रिय कानूनी सहकार्य तथा साइबर कानूनी नीति निर्माण जस्ता विषयहरुमा छलफल हुनेछ।
सम्मेलनको आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा न्यायिक सुधार, प्रविधि अनुकुल कानूनी संरचना निर्माण, मानव अधिकार संरक्षण तथा साइबर अपराध नियन्त्रणका सन्दर्भमा सक्रिय राष्ट्रको रुपमा प्रश्तुत गर्ने अवसर मिल्ने महान्यायधीवक्ता बडालको भनाई छ।

