
भैरहवा, २० फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र नेपाल ट्रेजर कार्बन लिमिटेडबीच नगरका ग्रामीण तथा परम्परागत चुलो प्रयोग गर्दै आएका घरपरिवारमा सुधारिएको चुलो वितरण गर्न सम्झौता भएको छ । कार्बन कम उत्सर्जन कम गरी जलवायु परिवर्तनको असर कम गर्ने उद्देश्यले स्थापना भएको यो संस्थाले खाना पकाउँदा दाउरा तथा गुईठा प्रयोग कम गर्न सुधारिएको चुलो वितरण गर्छ ।
नगरपालिकामा पनि त्यस्ता घरपरिवारको एकिन गरी सुधारिएको चुलो वितरण गर्न मंगलबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र ट्रेजर कार्बन लिमिटेड नेपालका प्रमुख स्टेभेनले सम्झौतापत्रमा दस्तखत गरेका छन्।
Advertisement

Advertisement
Advertisement

सम्झौतापछि उक्त संस्थाले नगरपालिकाको सहयोगमा सुरुमा परम्परागत चुलो प्रयोग गर्ने घर परिवारको छनौट गर्नेछ। छानौट पश्चात सम्झौताको ६ महिनाभित्र सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिइएको संस्थाकी प्रबन्ध निर्देशक समिक्षा बरालले जानकारी दिइन् । उनका अनुसार उक्त चुलोको प्रयोगले ६० प्रतिशत दाउरा तथा गुईठाको प्रयोग कम गर्नेछ। जसबाट कम दाउराको प्रयोगमा छिटो खाना पाक्नुका साथै कार्बन उत्सर्जनमा पनि कमी ल्याउनेछ।
मेयर खाँले नगरवासीको स्वास्थ्यमा सुधार ल्याउने, वातावरण प्रदुषण कम गर्ने एवं खाना पकाउँदा दाउरा, गुईठाको लागत कम गर्ने उद्देश्यले नगरबासीलाई आधुनिक एवं सुधारिएको चुलो वितरण गर्न संस्थासँग सहकार्य गरिएको जनाए ।

