
चितवन, २१ फागुन। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्युजन्तुको आक्रमणका घटना बढ्न थालेको हो । चालु आर्थिक वर्षमा गैँडा, हात्ती र बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक-एक जनाको मृत्यु भएको हो । चालु आर्थिक वर्षमा जंगली जनावरका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
Advertisement

Advertisement
Advertisement

निकुञ्जले मृतकका परिवारलाई १० लाख रुपैयाँ र घाइतेको उपचारका लागि दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ । हालसम्म ९४ लाख ६१ हजार नौ सय ३१ राहतस्वरुप प्रदान गरिएको उनले बताए । राहत स्वरुप प्रदान गरिएको रकम अन्नबाली र घर टहरामा समेत उपयोग भएको छ ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्षेनी सर्वसाधरणले ज्यान गुमाउनु परेको छ । उनले भने, ‘निकुञ्जभित्र वन्यजन्तुको वासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमा मात्र मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ।’ अहिले निकुञ्जले यस क्षेत्रमा घाँसे मैदान व्यवस्थापन, पानी (ताल, तलैया एवं पोखरी) व्यवस्थापन लगायत क्षेत्रमा काम गरिरहेको उनले बताए ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनधिकृत रुपमा प्रवेश गर्दा पनि यस्ता घटना हुने गरेका छन् । घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न उक्त क्षेत्र प्रवेश गर्दा जनावरले आक्रमण गर्ने गरेको पाइएको छ। निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको जनाएको छ ।

