
लुम्बिनी, २२ फागुन। शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राती लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो।
धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो।
Advertisement

Advertisement
Advertisement

धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए। उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी बर्ष यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना रहेको सुनाए।
उनले दीप प्रज्वलनमा सरकारका अधिकारीहरुसहित भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित विभिन्न देशबाट आएका पाहुनाहरुको सहभागिता रहने बताए। बौद्धमार्गीहरुमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकरात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए। उनले बुद्ध शिक्षालाई प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए।
धम्मकायले दीप प्रज्वलनसँगै धम्मयात्राका लागि समेत बिशेष तयारी गरेको छ। अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपाल सह–आयोजनामा आगामि चैत २ गते शनिबार भैरहवामा बुद्धको अस्तुधातु सहितको धम्मयात्रा गर्ने जनाइएको छ।
भैरहवाको रंगशालादेखि बुद्धचौको लुम्बिनीगेटसम्म हुने धम्मयात्रामा लुम्बिनीमा भइरहेको पाँच् सय जना प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु सहभागी हुनेछन्। यस्तै सोही दिन विहान देवदह, बुटवल, रामग्राममा पनि धम्मयात्रा हुनेछ । चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् । मायादेवी मन्दिर परिसरमा २० गते पाँच सय जनालाई चिवर प्रदान गरी प्रवजित गराइएको हो भने बुधबार मात्रै त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो ।

