
दाङ, २५ फागुन । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिता अन्र्तगतका खेलाहरु रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
Advertisement

Advertisement
Advertisement

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। ‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’उनले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ।’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले काठमाडौंबाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागीता रहनेछ। देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।

