
सर्लाही, २८ फागुन। सर्लाही प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय राम नारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२, कै ३५ वर्षीया सिहानता कुमारी देवीलाईरहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

भारतबाट बा ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको मलङ्गवा नगरपालिका–८ गोरखकालीस्थित सडकखण्डमा खानतलासी गर्दा कार्टुनमा प्याक गरी ल्याएको एक हजार दरका १७६ थान (एक लाख ७६ हजार) नक्कली नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जनाए।
उनका अनुसार पक्राउ परेकाहरुले रुपैयाँ (नोट) आकारको ८८ वटा बण्डल बनाएर बण्डलको बीचमा सेतो कागज र तलमाथी एक-एक वटा नक्कली नोट राखेर नक्कली रुपैयाँ भित्राएका थिए। गत फागुन १९ गते पनि सर्लाही प्रहरीले मलङ्गवा नगरपालिकामा तीन जनाको साथबाट नेपाली एक हजारको दरको ९८ थान नक्कली नोट (९८ हजार रुपैयाँ) नोट बरामद गरेको थियो।
प्रहरीले घटनामा प्रयोग भएको तीन वटा मोटरसाइकल र बरामद चार थान मोबाइल पनि नियन्त्रणमा लिएको छ।पक्राउ परेका पाँच जना उपर मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

