


काठमाडौ, २८ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताएका छन् । काठमाडौँमा हुलाक सेवा विभागले आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा उनले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रस्ट पारे।
सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै नेपाल सरकारका प्रवक्तासमेत मन्त्री गुरुङले राजाको नाममा मैदानमा उत्रिने नेताहरु लोकतन्त्र विरोधी भएको उल्लेख गरे। राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रुपमा समापन भएको तर्क गर्दै उनले भने, ‘कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।’

उनले संसद्मा रहेको सामाजिक सञ्जाल नियमनसम्बन्धी बनेको विधेयक ल्याउन अत्यन्त जरुरी रहेको धारणा राखे । समाज व्यवस्थित गर्न र अराजकताबाट जोगाउन विधेयक आवश्यक रहेको उनले जोड दिए ।

