
भैरहवा, ३ चैत। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर चैत ४ गते (सोमबार) राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण कुँवर अवकाशमा गएसँगै नेपाल प्रहरीले नयाँ ३१ औं महानिरीक्षक (आईजीपी) पाउने भएको छ। तर, कुवँर अवकाशमा जानु एक दिनअघि सम्म पनि सरकारले ३१ औं आईजीपीको रुपमा नयाँ अनुहारको टुंगो लगाउन सकेको छैन ।
नेपाली सेनामा अवकाशमा जानु एक महिना अघि नै विदा बसेर नयाँ प्रधानसेनापतिलाई संगठनबारे बुझ्न निमित्त दिने चलन छ। तर, नेपाल प्रहरी संगठनमा राजनीतिक दाउपेच यदि हदसम्म पुगेको छ कि सरकारलाई पनि नेतृत्व छान्न सकस पर्ने गरेको छ।



करिब ८० हजार जनशक्ति रहेको संगठनको नेतृत्व कसले गर्ने वा दिनेमा सोमबार (भोली) बस्ने मन्त्रीपरिषद्को बैठकले टुंगो लगाउने सम्भवना छ ।
आईजीपीका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबीच प्रतिस्पर्धा छ। जसका लागि तीनै जनाले दौडधुप गरिरहेका छन्। यद्यपी अन्य दुई एआईजी भन्दा थापा एक महिनाअघि नै एआईजीमा बढुवा भएका थिए। जसकारण थापा आईजीपी हुने सम्भावना बढी छ । आईजीमा बढुवा भएसँगै एआईजी र डीआईजी बढुवाको बाटो खुल्छ ।
आईजीपी कुवँरसँगै एआईजीहरु बुद्धिराज गुरुङ, कुबेर कडायत, दुर्गा सिंह, जनक भट्टराई,टेकप्रसाद राई पनि अनिवार्य अवकाशमा जाँदैछन्। आईजीपीमा हालको एक जना एआईजी नियुक्त भएपश्चात एआईजीको ६ पद रिक्त हुनेछ । सोही ६ एआईजी पदमा बढुवाका लागि डीआईजीहरु पनि दौडधुपमा लागेका छन् ।
एआईजीसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि भोलि ४ चैतमा अनिवार्य अवकाशमा जाँदैछन् ।