


काठमाडौं, ५ चैत। नेपाल प्रहरीका आईजीपी दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्रहरी भित्रको सुधार आफैबाट सुरु गर्ने बताए।
‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ। प्रहरीमा सुधार आवश्यक छ र अब त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन’ , उनले भने, ‘सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’

उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए। उनले आफ्नो मन्तव्यमा प्रहरी कर्मचारीलाई कार्यक्षमताको उचित मूल्यांकन दिलाउने प्रयास गरे।
सोमबार मन्त्रिपरिषदको बैठकले थापालाई नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा नियु्क्त गरेको थियो।

