
भैरहवा, ५ चैत। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएका दुई खेलमा बागमती र कर्णाली प्रदेशले जित आफ्नो पोल्टामा पार्न सफल भएको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनाएको थियो।
बागमतीका ओपनर इशान पाण्डेले ८२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रन जोडे। यस्तै, विपिन आचार्यले अविजित ६३, शुभ कंसाकारले ५२, विवेक रानाले ३४ र रिजन ढकालले नटआउट २३ को योगदान गरे। गण्डकी लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिए।
Advertisement

Advertisement
Advertisement

२ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अलआउट भयो। उसका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन, ओपनर समिर कंडेलले २६, अमृत गुरुङले २० तथा कमल परियार र दीपक डुम्रे समान १९ रन, सुवास भण्डारीले १८ रन बनाए। बागमतीका लागि ब्याटिङमा अर्धशतक प्रहार तथा प्लेयर अफ द म्याच भएका इशान पाण्डेले ४ विकेट लिए। यस्तै, साकार गजुरेलले २ तथा सूर्य तामाङ, रिजन ढकाल र गौतम केसीले समान १–१ विकेट लिए।
रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि १ सय २७ रनको फराकिलो जित निकाल्यो। टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १८ रनको योगफल बनायो। कर्णालीका अर्जुन घर्तीले ९५ बलमा ११ चौका र २ छक्काको मद्दतले नटआउट सर्वाधिक ८८ रन बनाए । हिमाशुं शाहीले ४६, प्रकाश जैसी १८, सुनिल धमलाले १३ तथा निश्चल रावलले १२ रन बनाए। कोशीका विपिन महतोले ३, दिपेश कंडेल र प्रकाश कार्कीले समान २–२ तथा सुजन थपलिया र श्रवण किस्कुले १–१ विकेट लिए।
२ सय १९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रन बनाउँदा अलआउट हुन पुग्यो। कोशीका ओपनर चिराग साहले सर्वाधिक २५ रन, सकिब हक १३ र कप्तान अंकित सुवेदी १० रनमा आउट भए। कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्णालीका सुनिल धमला र दीपेन्द्र रावतले समान ३–३, कप्तान दिवान पुनले २ तथा अनुज चुनाराले १ विकेट लिए ।

