


भैरहवा, चैत्र ६ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत बुधवार भएको खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशले जित हात पारेको छ।
तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी प्रदेश र मधेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जित हात पारेका हुन्। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो। ९३ रनको झिनो लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ र अर्जुन साउदले १८ रनको योगदान गरे।

बलिङमा गण्डकीका विपिन खत्री र सुवास भण्डारीले समान १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाउँदा अलआउट भया । गण्डकीका अर्जुन कुमालले ४८ तथा रोहित चन्द र सुवास भण्डारी समान १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलिसका ललितकुमार राजवंशीले ५.२ ओभरमा ७ रन खर्चिएर ५ विकेट हात पारे। यसअघि ललितले एपीएफविरुद्ध ६, मधेशविरुद्ध ५ तथा सुदूरपश्चिमविरुद्ध ६ विकेट लिएका थिए । यस्तै, गुलशन झाले ४ विकेट लिए ।
रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाईलाई ५ विकेट हरायो। लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा किरणकुमार ठगुन्नाले नटआउट रहँदै सर्वाधिक ४३ रन, नारायण जोशीले अविजित २५ र प्रकाश पाण्डेले २२ रन बनाए। लुम्बिनीका रमेश कुर्मीले २ तथा विप्रशन केसी, अजय चौहान र निर्मल गुरुङले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा अलआउट भयो। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ र प्रज्वल थापाले ३० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान २–२ विकेट लिए ।
यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको जित हात पारेको छ। आर्मीले दिएको २ सय १८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन, रुपेश सिंहले नटआउट ३८, हरिशंकर साह र पवन सरार्फ समान ३७ तथा शैलेन्द्र साहले १५ रन बनाए।
आर्मीका नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले समान २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो। आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन, सन्तोष कार्की ३३, कुशल मल्ल २४, विवेक यादव १६, तृतराज दास १४, कप्तान विनोद भण्डारी ११ तथा बसिर अहमद १० रनमा आउट भए। मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २–२ तथा रञ्जित कुमारले १ विकेट लिए।

