


कपिलवस्तु, ८ चैत। कपिलवस्तु जिल्लास्थित कृष्णनगर भन्सार कार्यालयले जाँचपास गरेर छाडेको ट्रक प्रहरीले नियन्त्रण्मा लिएको छ।
भन्सार कार्यालयले जाँचपास गरेर जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित भन्दा बढी सामग्री फेला परेपछि प्रहरीले युपी ३२ एन ००६९ नम्बर मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं डीएसपी मोहनमणि अधिकारीका अनुसार प्रज्ञापनपत्रमा उल्लेखित भन्दा ट्रकमा २० कार्टुनमा करिब ३ क्विन्टल बढी अंगुर बरामद भएपछि गाडी नियन्त्रणमा लिइएको हो। उक्त ट्रक काठमाडौंतर्फ जाँदै थियो।
भन्सार कार्यालयले जारी गरेको प्रज्ञापन पत्र अनुसार ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दर राजस्व लिइएको छ। तर, ट्रकमा ६२० कार्टुन अंगुर बरामद भएको छ। भन्सार एजेण्ट निरन्जन श्रीवास्तव, भन्सार जाँच अधिकारी धातानन्द ज्ञवाली र लेखनाथ भट्टराईको सेटिङमा कम परिमाण देखाएर फलफुलको जाँचपास गरिएको आरोप छ।
बरामद कागजपत्र अनुसार उक्त फलफुल भारतको नासिकबाट गणपति फ्रुट सप्लायर्सले काठमाडौँ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको देखिएको छ।
विगत देखि नै कृष्णनगर भन्सार कार्यालय र भन्सार एजेण्टको मिलोमतोमा राजस्व छली हुँदै आएको छ। यस नाकाबाट दैनिक १५० बढी मालवाहक ट्रक भित्रिने गरेको छ।

