
भैरहवा, १० चैत। लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार भएका तीन खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले जीत हात पारेका छन्।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १ सय ३१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको हो।
Advertisement

Advertisement
Advertisement

जीतसँगै आर्मीले ८ खेलमध्ये ७ मा जित निकाल्दै १४ अंक जोडेको छ। आर्मी अब लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग खेल्नेछ। पुलिस ७ खेलमा नै अपराजित रहँदै १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।
लुम्बिनीको भने फाइनल सम्भावना सकिएको छ। लुम्बिनी ८ खेलमध्ये ४ मा जित निकाल्दै ८ अंक छ भने अंक तालिकामा पाँचौ स्थानमा छ। लुम्बिनी अब लिगचरणमा एक खेल खेल्न बाँकी छ। टस जितेर ब्याटिङ रोजेको आर्मीले ४९.२ ओभरमा २ सय ४३ रनमा अलआउट हुनपुग्यो। आर्मीका लागि बसिर अहमदले ६ चौकाका मद्दतमा सर्वाधिक ८६ रन बनाए।
यस्तै, भीम सार्कीले ४४, तृतराज दासले ३१ र कुशल मल्लले १७ रन बनाए। बलिङमा लुम्बिनीका अजय चौहानले ४, कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, विप्रशन केसी, नर सार्की र कप्तान देव खनालले समान १–१ विकेट लिए।
आर्मीले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा १ सय १२ रन बनाउँदा अलआउट भयो। उसका लगि कप्तान देव खनालले सबैभन्दा बढी ३७ रन जोड्दा अरु ब्याटर सस्तैमा समेटिए। मनिष थापा र विप्रशन केसीले १३–१३, नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाए। बलिङमा आर्मीका साहब आलमले ४, नरेन साउदले २ तथा बसिर अहम्मद, सोमपाल कामी, आकाश चन्द र नरेन साउदले १–१ विकेट लिए।
यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा रहँदै फाइनल सम्भावना कायमै राखेको छ । अन्तिम दुई खेलअघि एपीएफको १० अंक छ। शीर्ष स्थानको नेपाल पुलिस क्लबको अन्तिम दुई खेलअघि १४ अंक छ। एक खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ।
अब एपीएफलाई फाइनलमा स्थान बनाउन आर्मीले अन्तिम खेल गुमाउँदा आफूले बाँकी रहेका दुवै खेल जित्न पर्नेछ। पुलिसले अन्तिम दुई खेल गुमाएर आफूले दुवै खेल जिते पनि एपीएफको फाइनल सम्भावना हुनेछ।
टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४९.२ ओभरमा २५८ रनमा अलआउट भयो। एपीएफका लागि ओपनिङ ब्याटर आशिफ शेखले ७४ बलमा १० चौका र १ छक्काको मद्दतले ८० रन बनाए। अर्का ओपनर लोकेश बमले ४६ रन बनाए भने सुमित महर्जनले ३१ रन जोडे । बलिङमा गण्डकीका सन्दीप पराजुली र सुदिप अर्यालले ३–३ तथा कमल परियारले २ विकेट हात पारे।
एपीएफले दिएको २५९ रनको लक्ष्य पछ्याएको गण्डकीले ८ विकेटको क्षतिमा २२७ मात्रै बनायो। गण्डकीका लागि अर्जुन कुमालले ३९ र दिनेश बुढामगरले ३४ रन जोडे। बलिङमा एपीएफका अभिषशक गौतमले ३ र अमरसिंह रौटेलाले २ विकेट लिए।
त्यस्तैदाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा किरणकुमार ठगुन्नाको कीर्तिमानी शतकमा सुदूरपश्चिमले कोशीमाथि ३१ रनको जित निकाल्यो। प्रतियोगितामा सुदूरको यो तेस्रो जित हो। सुदूरले अन्तिम खेलअघि ८ खेलबाट ३ जित निकाल्दा कोशीले भने ८ खेलबाट १ जित मात्र दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले किरणकुमार ठगुन्नाको शतक प्रहारमा ४३.४ ओभरमा सबै विकेट गुमाएर २४२ रन बनायो। ९१ बलको सामना गरेका किरणले ९१ बलमा १२ चौका र ४ छक्काको मद्दतमा ११५ रन बनाए। उनले एकै सिजन दुई शतक प्रहार गरेका छन् ।
यससँगै अघिल्लो सिजनको दुई शतक प्रहार गरेका त्रिभुवन आर्मीका क्लब कप्तान विनोद भण्डारीको कीर्तिमान बराबरी गरेका छन्। गत सिजन भण्डारीले एकै सिजन दुई शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए । यस्तै, टेक रावतले १६ र अर्जुन विकले १५ रन बनाए । बलिङमा कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ तथा फिर्दोस अन्सारी र अंकित सुवेदीले २–२ विकेट लिए।
प्रतिउत्तरमा सुदूरले दिएको २४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा २११ रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले ६२, अंकित सुवेदी र समिर काकीले ३८–३८ तथा आइश भट्टराईले ३६ रन बनाए । बलिङमा सुदूरका सूर्य श्रेष्ठले ३ र भोजराज भट्टले २ विकेट हात पारे ।

