


काठमाडौं,१३ चैत। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि उनी सर्वोच्च अदालतमा पुगेका छन्।
आफुलाई गैरकानुनी रुपमा पदबाट हटाउने निर्णय गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने मागसहित अधिवक्ता लोकमणि पोखरेल वारेसमार्फत सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् ।

उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् । कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।
बुधवार करिब ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

