


पोखरा, १४ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–२७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेविरुद्ध विशेष अदालत भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
लामिछानेले सेवाग्राहीसँग जन्म मिति सच्याइदिने भन्दै घुस स्वरुप २ लाख ५ हजार माग गरी उक्त रकम लिएको स्वीकार गरेपछि उनीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनले दिनेश लामिछानेको पहिले नै भएको जन्मदर्तालाई परिवर्तन गर्न मिलेमतो गरी दोहोरो जन्मदर्ता गराएको पाइएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही माग गरिएको हो।

आयोगका अनुसार लामिछानेले घुसबापतको रकम दिनेश लामिछानेमार्फत बैंक खातामा जम्मा गराएर सोही रकम आफ्नो खातामा स्थानान्तरण गरेका थिए। यस कार्यमा संलग्न रहेको भन्दै दिनेश लामिछानेविरुद्ध समेत विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफासहित लामिछाने र दिनेशविरुद्ध बिगो बमोजिम जरिवाना, कैद सजाय तथा घुसबापतको रकम जफत गर्न माग गरेको छ ।

