


काठमाडौ, १५चैत। काठमाडौंमा समाजवादी मोर्चा (गणतन्त्रवादी) र राजावादीहरुको प्रदर्शन सुरु भएको छ। काठमाडौंको तीनकुनेमा राजावादीहरूले र प्रर्दशनीमार्गमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन्। राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरुप मोर्चाले प्रदर्शनमा उत्रिएको हो।
समाजवादी मोर्चाको जुलुस कोटेश्वर,कुपण्डोल,कालिमाटीलगायतका स्थानबाट निस्केर प्रर्दशनीमार्ग पुगेर सभामा परिणत हुनेछ। यसैगरी राजतन्त्रवादीहरुले पनि विभिन्न स्थानबाट जुलुश प्रदर्शन गरिरहेका छन्।

राजतन्त्रवादीहरुको आन्दोलनको नेतृत्व राप्रपाका नेता दुर्गा प्रसाईंले गरेका छन्। गणतन्त्रवादी र राजतन्त्रवादीले एकैदिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। एसएसपीको कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। तीनकुने-नयाँ बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियमित ड्युटीमा खटिनेबाहेक सो संख्यामा प्रहरी परिचालन गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले बताए। उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
अधिकांश स्थानमा ट्राफिक प्रहरीले चेकिङलाई कडा पारेका छन्। प्रदर्शनलाई दुवै पक्षले शक्ति प्रदर्शन गर्ने जनाएका छन्।

