


काठमाडौं,१५ चैत। काठमाडौंको तीनकुनेस्थित आगजनी गरिएको घरमा जलेर एक जनाको पत्रकारको मृत्यु भएको छ।
एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको मृत्यु भएको हो। उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ। उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो।

साथै, दुर्गा प्रसाई नेतृत्वको समूहले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको जनाइएको छ ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर उनलाई अस्पताल ल्याइएको थियो। उपचारका लागि अस्पताल ल्याइएकोमा चिकित्सकले महर्जनलाई मृत घोषणा गरेका छन्।

