
भैरहवा,१६ चैत। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले उचालेको छ। शनिबार भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले प्रतियोगिताको उपाधी उचालेको हो। जितसँगै पुलिसले नगद १० लाख सहित ट्राफि हात पारेको छ ।
१५५ रनको लक्ष्यका साथ मैदानमा ब्याटिङ गर्न पसेको पुलिसले ओपनर ब्याट्सम्यान कुशल भुर्तेलको अर्धशतकको सहायतामा २५.२ ओभरमा ४ विकेट गुमाउँदै उपाधी उचाल्न सफल भयो। ७० बलमा सात चौका र तीन छक्काको मद्दतले ओपनर भुर्तेलले ६१ रन बनाए।अमित श्रेष्ठले ३९ रन र दिलिपनाथले अविजित ३१ रनको योगदान दिए। बलिङमा आर्मीका साहब आलमले ३ विकेट र नरेन साउदले १ विकेट लिए ।
Advertisement

Advertisement
Advertisement

फाईनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले ४३ ओभरमा सबै विकेट गुमाउँदा १५४ रन बनाएको थियो। २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेपछि आर्मीले मध्यम स्कोर बनाएको थियो।
आर्मीका लागि बसीर अहमदले १०४ बलमा नौ चौका र एक छक्काको मद्दतमा ८६ रन बनाए। कप्तान विनोद भण्डारीले २९ रन, विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
आर्मीलाई सस्तैमा समेटेको पुलिसका करण केसीले ७ ओभरमा १ मेडेन सहित ३० रन खर्चेर ३ विकेट लिए। सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिदा कप्तान दिपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १र१ विकेट लिए ।
उपविजेतामा चित्त बुझाएको त्रिभुवन आर्मी क्लबले ५ लाख रुपैयाँ सहित रनरअप ट्राफि प्राप्त गरेको छ। प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गरे भने प्रतियोगिताको ९ खेलमा ३७४ रन बनाउँदै गण्डकी प्रदेशका अर्जुन कुमाल उत्कृष्ट ब्याट्सम्यान घोषित भए। उत्कृष्ट ब्याट्सम्यानको रुपमा उनले बजाजको एनएस २०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरे।
प्रतियोगिताको दश खेलमा ४१ विकेट लिएर उत्कृष्ट बलर र खेलाडी घोषित भएका नेपाल पुलिस क्लबका ललित नारायण राजबंशीले बजाजको दुई वटा एनएस २०० मोडेलको मोटरसाइकल प्राप्त गरे। उदियमान खेलाडी घोषित भएका नेपाल आर्मीका तिर्थराज दासले ५० हजार नगद सहित क्रिकेट किट प्राप्त गरे ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत यस पटक ४६ वटा खेलहरु भएका थिए। सबै खेल पहिलो पटक काठमाण्डौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रंगशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रंगशाला आयोजना भएको थियो। प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागिय टोली सहित १० वटा टिमले सहभागीता जनाएका थिए ।

