


मर्चवार, १७ चैत । रुपन्देहीको मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्था मूल समितिको निर्वाचन अन्तर्गत उपाध्यक्ष पद निर्विरोध भएको छ। अन्य तीन पदका लागि प्रतिष्पर्धा हुने भएको छ। संस्थाको मूलसमिति चयन प्रक्रिया अन्तर्गत वरिष्ठ उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सादेवी गुप्ताको एकल उम्मेदवारी परेकाले उक्त पद स्वतः निर्विरोध घोषित भएको हो।
निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि भने निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ।आइतबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयअवधि तोकिएको छ । संस्थाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष नजिर अहमद खाँ, फिरोज अहमद खाँ र राजेन्द्र प्रसाद यादव, सचिवमा जगन्नाथ प्रसाद कुर्मी र अब्दुल सलाम मुसलमान, कोषाध्यक्ष पदमा जनार्दन यादव र प्रभु प्रसाद यादवले उम्मेदवारी दिएका छन ।

आगामी चारवर्षे कार्यकालको लागि चैत २३ गते शनिबार मतदानको तालिका छ। यसअघि एउटा मात्र उपाध्यक्ष हुने मूल समितिको संशोधित विधान अनुसार यसपटक महिला उपाध्यक्ष पद थपिएको छ। निर्वाचन समितिका अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी परेकाहरुबीच प्रतिष्पर्धा हुने देखिएको छ।
किसानहरुको हकहितका लागि मर्चवार लिफ्ट सिंचाइ महत्वपूर्ण मानिन्छ । निर्वाचनले संस्था सञ्चालनमा नेतृत्व चयन गर्ने भएकाले उपभोक्ताहरुको चासो बढेको निर्वाचन समितिका संयोजक एवं जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीका इञ्जिनियर विवेक शाहले बताए ।
मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थाको विधान अनुसार निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समिति संयोजक शाहले भने, ‘निर्वाचनमा कुल १ सय ३१ ब्लकका अध्यक्षले मतदान प्रक्रियाबाट संस्थाको पदाधिकारी छान्नेछन्। उम्मेदवारहरुबीच सौहार्दपूर्ण प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ।’

