


भैरहवा, १७ चैत। नेपाल प्रहरीले शुक्रवार राजावादीको आन्दोलनको क्रममा भएका हिंसात्मक घटनाका सम्बन्धमा अनुसन्धानका लागि सर्वसाधरणसँग सूचनाको माग गरेको छ।
प्रहरीले आइतबार सामाजिक संजालमा सूचना जारी गर्दै शुक्रवार गैरकानुनी अपराधिक गतिविधिमा संग्लन व्यक्तिहरुको सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि भएका तथ्यपरक सूचना (फोटा, भीडियो, संग्लन व्यक्तिको विवरण) उपलब्ध गराईदिनका लागि आग्रह गरेको छ।

जारी सूचनामा भनिएको छ-‘चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनुहुन…।’ सूचना उपलब्ध गराउने व्यक्तिको गोपनियता कायम रहने प्रहरीले जनाएको छ।

