


काठमाडौं,१७ चैत। ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ। समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा जगमान गुरुङले आन्दोलनको नेतृत्व गर्ने बताएका हुन्।गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति हुन्।
सरकारले आफूलाई नजरबन्दमा राखेको उल्लेख गर्दै सुवेदीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ । आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’

शुक्रबार राजधानीको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएसँगै राजावादीमाथि सरकारले धरपकड गरेको थियो। घटनापछि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत पक्राउ परेका छन्। समितिका संयोजक योजक नवराजसुवेदीलाई भने सरकारले भेटघाटमा प्रतिबन्ध (नजरबन्द) लगाएको छ।समितिको कमान्डर दुर्गा प्रसाईँ भने फरार छन्।

