


भैरहवा, १९ चैत। रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको पार्थिव शरीर उनको गृहनगर भैरहवामा ल्याइएको छ।
राप्रपा वरिष्ठ नेता समेत रहेका बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो।

हेलकिोप्टरमार्फत् भैरहवा ल्याइएका बोहराको पार्थीव शरीरलाई गौतमबुद्ध विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बर्मेलीटोली, बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर–३ उनको निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ। निवासमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधरण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

नागरिक अगुवा, उद्योगी, व्यवसायी, राजनीतिकर्मी, समाजसेवी लगायतले बोहराको निधनले रुपन्देहीका साथै राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताएका छन्।

श्रद्धाञ्जली अर्पण पश्चात गृहनगरबाट उनको पार्थीव शरीरलाई पुनः काठमाडौं लगिने बताइएको छ। बुधवार बिहान काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राखेर आर्यघाटमा अन्तिम संस्कार गरिने राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए।


