
हृदयराम गुप्ता
लुम्बिनी, १९ चैत। काठमाडौंको तीनकुनेमा गत शुक्रवार राजावादीको आन्दोलनमा भएको आगजनी घटनामा ज्यान गुमाएका एभीन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा १ सय ८ वटा दीप प्रज्वलन गरिएको छ।
Advertisement

Advertisement
Advertisement

मधेशी पत्रकार समाज र मर्चवार प्रेस क्लब रुपन्देहीको संयुक्त आयोजनामा गरिएको दीप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पत्रकार रजकको निष्ठा, समर्पण र बलिदानलाई सम्मान व्यक्त गरिएको छ।
मधेशी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष राम बिकास चौधरीले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको जिकिर गरे।
उनले भने,‘एक सत्यनिष्ठ, मेहनती र निर्भीक पत्रकारलाई आन्दोलनको क्रममा यसरी जलाएर हत्या गरिनु केवल व्यक्तिगत क्षति मात्र होइन । यो सम्पूर्ण पत्रकारिता जगतका लागि गम्भीर आघात हो।’ उनले लुम्बिनीलाई शान्ति भूमि मात्र नभई न्यायको आवाज उठाउने स्थलका रुपमा परिभाषित गर्दै समाजमा व्याप्त अन्याय, दमन र हिंसाका विरुद्ध सशक्त रूपमा उभिनुपर्ने धारणा राखे।

मधेशी पत्रकार समाज नेपाल रुपन्देही शाखा अध्यक्ष राधेश्याम विश्वकर्माले पत्रकार सुरेश रजकको बलिदानलाई व्यर्थ जान नदिनुपर्ने बताउँदै पत्रकारहरुको सुरक्षाका लागि एकजुट हुन आह्वान गरे। उनले भने, ‘पत्रकारितालाई भयमुक्त बनाउन, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र अपराधीलाई कठोर कारबाही गराउन हामी निरन्तर आवाज उठाउनेछौँ।’
त्यस्तै, पत्रकार रजकको परिवारलाइ उचित क्षतपिूर्ति दिनुपर्ने भन्दै मर्चवार प्रेस क्लबका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ रुपन्देही कार्य समिती सदस्य हृदयराम गुप्ताले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको रक्षागर्न राज्यले कडा कदम चाल्नुपर्ने माग गरे।
कार्यक्रममा सहभागी पत्रकार, भिक्षु, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले मृतक आत्माको चिरशान्तिको लागी प्रार्थना गर्दै पत्रकार सुरेश रजकको हत्यामा संलग्न दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गरे।

