


भैरहवा, २० चैत। रुपन्देहीको रोहिणी गाउँपालिकाले बुधबार (आज) शोक विदा दिएको छ। रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा गाउँपालिकाले विदा दिएको हो।
बोहराको निधनले रोहिणी गाउँपालिका परिवार अत्यन्तै मर्माहित र दुःखित भएको गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा उनले समवेदना प्रकट गरे।

उनका अनुसार आज रोहिणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, सो मातहतको वडा कार्यालयहरु, आधारभूत स्वास्थ्य केन्द्रहरु, सामूदायिक तथा संस्थागत विद्यालयहरुको सेवा प्रवाह र पठनपठन स्थगित गरिएको छ । पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरु यथावत सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
राप्रपाका वरिष्ठ नेता समेत रहेका बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

