
सलमान खान
भैरहवा । राजनीतिमा पाका र दुरदर्शी नेताको रुपमा स्थापित दीपक बोहराको पहलकदमीले रुपन्देही क्षेत्रमा भएका विकास सम्झनामा रहने भएका छन्। दरबार र जनताको रोजाइमा परिरहने बोहरा व्यवस्था बदलिएसँगै आफुलाई पनि परिवर्तन गरेर नागरिकसँग हातेमालो गर्दै विकासका लागि अघि बढे।
पञ्चायत, बहुदल देखि गणतन्त्रसम्म गरेका विकासका कार्यहरु यस क्षेत्रका पुराना पुस्ता र उनका समकक्षीहरुको सम्झनामा छ। राजनीतिका पुराना पुस्ताका मध्ये नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका सांसद देवीप्रसाद चौधरी उनलाई सम्झिदैं भन्छन्– ‘बोहराले पञ्चायतकालमा धेरै काम गर्नु भएको छ । अस्वथ्य भएको बेला काम गर्ने कुरा हुँदैन । उहाँको निधनले यस क्षेत्रलाई क्षति पुगेको छ।’
Advertisement

Advertisement
Advertisement

यस क्षेत्रमा विकासका ठूला आयोजनाहरुलाई अगाडी बढाउन उनको भूमिका निर्वाह गर्दै आएका थिए। भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ आयोजना (भैलुभूज) परियोजना रुपन्देहीको कृषि क्षेत्रको सिंचाइका लागि कोशेढुंगा सावित भएको थियो। भैलुभूज परियोजना अन्र्तगत डिप ट्यूबेल (भूमिगत सिंचाइ) को निर्माण भएसँगै यस क्षेत्रका किसानहरुलाई धेरै सहज भएको थियो।
‘भैलुभूज परियोजना ल्याउनका लागि उहाँ (स्व.दीपक बोहरा) को ठूलो भुमिका छ’, राप्रपाका लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप कुमार उदय भन्छन्– ‘परियोजनाको कारण नै रुपन्देहीको गाउँगाउँमा सडक पुगेको थियो। जुन रुपन्देहीको उज्जवल भविष्यको लागि कोशेढुंगा सावित भयो।’

विपक्षी दल, व्यक्तिसँग समन्वयकारी भुमिका निभाउने राजनीतिकर्मी रुपमा स्थापित बोहराले ल्याएको भैलुभूज परियोजना नै रुपन्देहीको पूर्वाधारको पहिलो विकासको आधार रहेको उनको दावी छ।
बोहराको निधनले यस क्षेत्रलाई अपुरणीय क्षति पुगेको सरोकारावालहरु बताउँछन् । ०३६ सालको निर्वाचनबाट राष्ट्रिय पञ्चायत सदस्य भएका बोहरा ०३८ असार २ गते सहायक पर्यटनमन्त्री बनेपछि यस क्षेत्रमा विकासको गति बढेको उनको निकटतम सहकर्मीहरुको भनाई छ। जिल्लामा खानेपानी आयोजनाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउनेमा भुमिका खेल्दा तिलोत्तमाका शंकरनगरवासीहरुले उनलाई ‘पानी खुवाउने नेता’को रुपमा सम्झिन्छन् ।
जग्गाजमिन नभएका सर्वसाधरणलाई बुटवलको दीपनगरमा बसोबासका लागि पहलकदमी भुमिका निभाएका बोहरालाई राज्यविरुद्धको मुद्दा समेत लगाईएको थियो। बुटियान क्षेत्रमा सर्वसाधरणको बसोबास गराएपछि त्यहाँका बासिन्दाले उनकै नामबाट बस्तीको नाम नै ‘दीपनगर’राखेको बुटवल उपमहानगरपालिकाका पूर्वमेयर पुनाराम पोखरेल बताउँछन्।
‘दीपनगर भन्ने स्थानबाट सुकुम्बासीहरुको उठिबास गराउँदा उहाँ (स्व.दिपक बोहरा) ले आवाज उठाएर उहाँको बस्ती बसालिदिनु भएको हो’,अध्यक्ष उदयले भने,‘बुटियान क्षेत्रमा सर्वसाधरणको बसोबास हुन थालेपछि त्यती बेला प्रशासनले उक्त क्षेत्रमा आगो, हात्ति लगाईदिने गरेपछि प्रशासनसँग लडेर अन्ततः उहाँले बस्ती बसाल्नु नै भयो।’ दीपनगर पहिला सुख्खानगर क्षेत्र थियो । बुटियान क्षेत्र थियो। अहिले उक्त क्षेत्र बुटवल उपमहनगरपालिका वडा नं. ७ अन्र्तगत पर्छ। हाल उक्त वडा २ हजार बढी घर छन्।

दीपनगर मात्रै नभई सियारीको छपिया, शुद्धोधनका विभिन्न स्थानमा बोहराले नै बस्ती बसालेको उनका सहपाठी एवं राजनीतिका सारथी निरन्जन थापा सम्झिन्छन्।
०३६ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएका बोहरा पर्यटन सहयाक मन्त्री बनेपछि बस्तीमा सडक, खानेपानी, विद्युत, सिंचाईदेखि शिक्षा लगायत क्षेत्रको विकासका लागि अहम भुमिका निर्वाह गरेको उनी बताउँछन् ।
श्रद्धान्जली अर्पण गर्न बोहरा निवासमा पुगेकी लुम्बिनी प्रदेशका उपसभामुख मेनुकखाँण केसीले बोहराको निधनले रुपन्देहीलाई मात्रै नभई लुम्बिनी प्रदेश, राष्ट्रलाई नै क्षति पुगेको बताइन्। रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राप्रपाका वरिष्ठ नेता बोहराको मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

