


काठमाडौं, २० चैत। राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताका नाममा हिंसा स्वीकार्य नहुने बताएका छन् । बुधबार काठमाडौंमा रेडियो नेपालको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले संविधानले दिएको प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन नमिल्ने भन्दै लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था,मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।
उनले संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष भएको धारणा राखे। उनले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लूटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पारे।

उनले केही दिनअगाडि काठमाडौंमा भएको घटनाको क्षतिप्रति दुःख व्यक्त गर्दै नागरिकको मृत्यु हुनु दुःखद भएको बताए।राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गरे। संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले पुराएको योगदानको चर्चा गरे।
राष्ट्रपति पौडेलले प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको उल्लेख गर्दै नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताए।

