


काठमाडौं,२० चैत। भुकम्प पीडितको सहायताको लागि नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ। म्यानमारमा केही दिन अघि मात्रै आएको भुकम्पका कारण त्यहाँ धनजनको क्षति भएपछि मेडिकल राहतसहित सेनाको टोली बुधवार म्यानमार प्रस्थान गरेको हो।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना ‘क्रु मेम्बर’सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानद्वारा म्यानमार गएका हुन्।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवम् इक्युप्मेन्टहरुसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् ।उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरुको स्वास्थ्य उपचारमा खटिएर सेवा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ ।

