


काठमाडौं, २१चैत। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बित भएका छन्।
रेडक्रसको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आईएफआरसी)ले पत्र लेखेर अध्यक्ष नेपालसहित मनोज कुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिना, विनोदकुमार बस्नेतलाई निलम्बन गरेको जानकारी दिएको छ।

संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको, सामान्य सिद्धान्तहरु परिपालना नगरेको कारण सहित उनीहरुलाई निलम्बन गरिएको आईएफआरसीले जनाएको छ।
त्यस्तै संस्थामा राजनीतिक हस्तक्षेप निम्त्याएको पनि उनीहरुमाथि आरोप लगाएको छ। आइएफआरसीको विधानको धारा ८ प्रतिकूल हुने गरी कार्य गरेकाले निलम्बन गरिएको संस्थाले बताएको छ।
आईएफआरसीले कारबाही गरेकाहरु मूलतः राजनीतिक भागबण्डा गरेको आधारमा कारबाहीमा परेकाहरु छन्। नेपाल रेडक्रसलाई पठाइएको पत्रका अनुसार यसरी कारबाहीमा पर्नेहरु तीन जना नेपाली कांग्रेसका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एसका एक–एक जना छन्।
गत कात्तिकमा नेपाल रेडक्रस सोसाइटीमा दलीय भागबन्डाको आधारमा पदाधिकारी नियुक्त गरिएको थियो। नेपाली कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष (खुल्ला), उपमहामन्त्रीसहित १५ जना, नेकपा (एकीकृत समाजवादी) को भागमा महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना, नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८ जना नियुक्त गर्ने सहमती भएको थियो।
भागबन्डाको पत्रमा हस्ताक्षर गर्ने सुदर्शन नेपाल, भूपतिलाल श्रेष्ठ, नारायण तिमल्सिना, मनोजकुमार थापा र विनोद बस्नेत कारबाहीमा परेका हुन्।


