
मनोरञ्जन शर्मा
भैरहवा,२१ चैत। सिद्धार्थनगर नगरपालिकामा आबद्ध रहेका सहकारीको बचत ७४ करोड ४ लाख रुपैयाँ रहेको छ। सिद्धार्थनगर नगरपालिका कार्यालयको सहकारी, उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखा प्रमुख एवं अधिकृत कमलकान्त खनालका अनुसार सिद्धार्थनगर भित्र कार्यक्षेत्र रहेका २९ सहकारीमा चालु वर्षको पुस मसान्तसम्म उक्त रकम बचत रहेको हो।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार उक्त अवधिसम्म सहकारीले कुल ८७ करोड ३० लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ती सहकारीको सेयर पुँजी रकम २३ करोड ८० लाख रुपैयाँ रहेको छ भने बचतकर्ता सदस्यहरु ७ हजार ३ सय १५ छन्।
जसमध्ये महिला बचतकर्ताहरुको संख्या ३ हजार ६ सय ५४ रहेको छ । सिद्धार्थनगर भित्र आबद्ध नभएका तर प्रदेश मातहतमा रहेका र रुपन्देही जिल्ला भरी कार्यक्षेत्र रहेका सहकारी संख्या २१ रहेको छ। प्रदेश मातहत रहेका सहकारीमध्ये त्रय बक्रम, सुप्रिम, आगन्तुक, मार्गदर्शन, जनप्रिय, सार्थक सहकारीले बचतकर्ताको बचत रकम फिर्ता नगरी सम्पर्क विहीन रहेको खनालले बताए।
उनले सम्पर्कमा नआएका सहकारीहरु प्रदेश सरकार मातहतमा रही कारोबार गर्ने हुनाले त्यसको बारेमा तथ्यांक आफूहरुसँग नहुने जनाए। खनालका अनुसार सिद्धार्थनगरमा आबद्ध रहेर कारोबार गरिरहेका सबै सहकारीहरुको कारोबार र गतिविधि सन्तोषजनक रहेको छ।
‘सिद्धार्थनगर नगरपालिकमा दर्ता भएर हाम्रो मातहत रहेका सहकारीहरुको कारोबार र गतिविधि सन्तोषजनक छ’, उनले भने, ‘नगरपालिकमा शाखा रहेको र सम्पर्कबिहिन भएका सहकारीहरु प्रदेश मातहत रहेकोले हामीले उनीहरु उपर कारवाही प्रक्रिया पनि अगाडी बढाउन सक्दैनौं ।’
सबै सहकारी कम्प्युटर प्रणालीमा आबद्ध रहेका छन् भने मासिक रुपमा अनिवार्य रुपमा प्रणालीमा प्रविष्टि गर्ने पर्ने व्यवस्थाले सहकारीहरु पारदर्शी रुपमा अघि बढिरहेको उनको भनाइ छ ।
सिद्धार्थनगरमा आबद्ध सहकारीले विशेष गरी साना व्यवसायी कर्जा, वैदेशिक रोजगारी, सामाजिक कर्जा, घर जग्गालगायतका क्षेत्रमा लगानी गर्दै आएका छन्। सिद्धार्थनगरमा बचत तथा ऋण सहकारी २०, कृषि सहकारी ६ र बहुउद्देश्यीय सहकारी ३ गरी २९ वटा सहकारीले सक्रिय रुपमा काम गर्दै आएका छन्। जसमा महिला ४९ र पुरुष १८ गरी ६७ जनाले रोजगारी समेत पाएका छन् ।

