
भैरहवा, २५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने कारागार चलान भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई भैरहवा कारागार चलान गरिएको हो। कारागार पुगेका लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन्।
आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजादै गर्दा सञ्चारकर्मीको अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने,‘केही छैन,सम्मान छ ।’ उनलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए । ‘कारागारको चारवटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा राखेका छौं’,उनले भने, ‘अहिले उहाँ बसेको ब्लक सिंगल छ,पछि कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप्नुपर्ने हुनसक्छ ।’
सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवै पुनरावेदनका लागि उच्च अदालत बुटवलमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि गत शुक्रबार उच्च अदालतले सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

