
भैरहवा, २५ चैत। रुपन्देहीको भैरहवामा पूर्वमहिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ। नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि मुलुकमा पहिलो पटक महिला लेजेण्ड प्रतियोगिता सुरु भएको हो।
सन् २००७ र २००९ मा खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टिम बनाएर सिरिज आयोजना गरिएको छ। सोमबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा सन् २००९ को लेजेण्ड महिला टिम ५ विकेटले विजयी भएको छ। जितका लागि पाएको ८३ रनको लक्ष्य सन् २००९ टिमले ८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै जित निकाल्यो। उसको जितमा सरु पुनले ४१ र शोभा आलेले १४ रनको योगदान गरे। बलिङमा सन् २००७ टिमका सुस्मिता चौधरी र निराराज उपाध्यायले समान १–१ विकेट लिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

टस जितेर ब्याटिङ रोजेको सन् २००७ को टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनको सामान्य योगफल बनाएको थियो। उक्त टिमका लागि निराराज उपाध्यायले २३ तथा मधु थापा र नेरी थापा मगरले समान १३–१३ रन बनाए। बलिङमा सन् २००९ को टिमका करुणा भण्डारीले ४, सोनु खड्काले २ तथा रितु कनौजिया र सीता शाहीले १–१ विकेट लिए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज सुरु भएको हो। दुई दिनसम्म चल्ने सिरिजमा मुलुकभरबाट पूर्वक्रिकेटर महिला खेलाडीहरु भैरहवा आएका छन्। उक्त सिरिजमा लेदर बलको प्रयोग गरिएको छ ।

