
भैरहवा, २६ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आन्दोलनरत शिक्षक महासंघका जायज मागहरु तत्काल सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।
शिक्षकहरु आन्दोलित हुँदा विद्यालयको परिक्षा नतिजा प्रकाशन तथा नयाँ शैक्षिक सत्रको भर्ना अभियानलाई समेत असर परेको मंगलबार खाँद्वारा जारी बिज्ञप्तिमा उल्लेख गर्दै उनले जायज र विगतमा भएका सम्झौताहरुको कार्यान्वयन गरी शिक्षकहरुलाई काममा फर्कने वातावरण निमार्ण गर्न सरकारसँग आग्रह गरेका हुन।
Advertisement

Advertisement
Advertisement

विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकका मागहरु समावेश नभएको, शिक्षकहरुको स्थायित्व, सेवा सुविधा, सरुवा–बढुवा जस्ता विषयमा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र ती सहमति बारम्बार उल्लंघन भएको ठहर गरी नेपाल शिक्षक महासंघले गत चैत २० गते देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएकोले यसबाट सिद्धार्थनगर नगरपालिकामा शैक्षिक गतिविधिहरु प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ।
बिज्ञप्तिमा भनिएको छ–‘शिक्षा क्षेत्रको स्थायित्व र प्रगतिको लागि शिक्षकहरुको आत्मसम्मान कायम राख्दै आफ्नो कर्मथलो फर्कने उचित वातावरण निर्माणका लागि नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु।’ उनले वार्ता र सम्वादका माध्यमवाट समस्याको समाधान निकाल्न दुवै पक्षलाई आग्रह समेत गरेका छन्।

