


भैरहवा,२७ चैत। पूर्व महिला क्रिकेट खेलाडीहरुबीच भैरहवामा सम्पन्न ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सन् २००९ को टिमले हात पारेको छ। मुलुकमै पहिलोपटक महिला लेजेण्डबीच भैरहवामा दुई दिवसीय स्पर्धा भएको थियो। जसमा दुबै खेल जित्दै सन् २००९ को टिमले सिरिज आफ्नो पक्षमा पारेको हो। सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न सिरिजमा सन् २००९ को लेजेण्ड महिला टिमले सन् २००७ को टिमलाई ८१ रनले पराजित गर्दै सिरिज हात पारेको हो।
टस जितेर ब्याटिङ गरेको सन् २००९ ले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानी १ सय ४१ रन बनायो। जसमा करुण भण्डारीले ३२, रितु कनौजियाले २९, सोनु खड्काले २८, एन्जिला पाठकले ११ तथा नीमा तामाङ र खिनाकुमारी थापाले समान १०–१० रन बनाए। बलिङमा सन् २००७ का नेरी थापा मगरले ३, सुस्मिता चौधरीले २ र नितु थापाले १ विकेट हात पारिन्।

जवाफमा सन् २००७ को टिम ८ विकेट गुमाएर ६८ रन मात्रै बनायो र हार व्यहोर्यो। उसका लागि निराराज उपाध्यायले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सन् २००९ को टिमकी सरस्वती पुन र सीता शाहीले २–२, तथा रितु कनौजिया र करुणा भण्डारीले समान १–१ विकेट लिए।
प्रतियोगितामा सन् २००८ की करणा भण्डारीलाई बेष्ट बलरको पुरस्कार प्रदान गरिएको थियो । यस्तै, सहभागी सबै खेलाडीहरुलाई मायाको चिनोले प्रोत्साहन गरिएको आयोजकले जनाएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज भएको हो ।
सन् २००७ र २००९ मा खेलेका पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टिम बनाएर सिरिज आयोजना गरिएको थियो। नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड क्रिकेट भने पहिलोपटक गरिएको हो।

