


काठमाडौं,२९चैत। हङकङमा जारी चार देश सम्मिलित टी २० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको नेपालले बिहीबार कुवेतलाई ६ विकेटले हराएको हो । यससँगै ४ अंक जोड्न सफल नेपालले फाइनल पुग्ने संभावना बलियो बनाएको छ।
मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। पहिलो विकेटका लागि १ सय २७ रनको शतकीय साझेदारी गर्दै कुशल भुर्तेल र आसिफ शेखले जित्ने आधार बनाएका थिए। कुशल ८१ रन र आसिफ ५३ रनमा आउट भए ।

उनीहरु आउट भएलग्त्तै कुशल मल्ल पनि आउट हुँदा नेपालमाथि दवाव परेको थियो तर, दीपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रन बनाएर जित पक्का गरेका थिए।
यसअघि पहिलो ब्याटिङ गरेको कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो। नेपालका बलरमा सोमपाल कामीले ३, नन्दनले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

