


बुटवल, २९चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन छिट्टैल्याउनका लागि सरकार तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुनपर्ने बताएका छन्।
शुक्रवार नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाज सुन्ने खालको सरकार भएकाले आन्दोलन गरिरहन नपर्नेमा जोड दिए।

‘समस्याहरु छन् तर सडकमा गइरहनुपर्ने थिएन। म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु। तपाईँहरुले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ’, उनले भने।
साथै, उनले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताए।
उनले भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन्। म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान् नेताहरु पार्टीमा आउनेछन्। यस देशको विकासको भाग्य रेखा हामी आफैँ कोर्छौं। मान्छेको घरमा आगो लगाएर, पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन्।’
उनले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानी पूर्ण संघर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याइएकोमा यसलाई बलियो बनाउन सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए ।

