
बुटवल, २९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन्। नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार रुपन्देहीको बुटवलमा भएको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन्।
उनले ऐन, कानुन र नियमावलीमार्फत निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिएको र सोही अनुसार काम भइरहेको बताए। प्रदेश तहबाट नै सचिव राख्न सक्ने व्यवस्थालाई संस्थागत गर्न पहल जारी राखेको समेत उनले बताए । ‘तपाईँहरु मध्येबाटै प्रदेश सरकारका सचिव बन्नुपर्छ भन्ने मान्यता राखेर सरकार अघि बढेको छ,’उनले भने, ‘प्रदेश तहमा निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौं । कर्मचारीको मनोबल उच्च राखेर नै समृद्ध प्रदेश बनाउन सकिन्छ ।’
Advertisement

Advertisement
Advertisement

रिक्त पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढेको तर, प्रशासन सेवातर्फ अदालतमा मुद्दा परेका कारण विज्ञापन हुन नसकेको भनाइ उनको छ। ‘कहाँ मिलेको छैन, त्यहाँ सरकारले मिलाउन तयार छ। कर्मचारी साथीहरु संवादमा आउन जरुरी छ’,उनले भने, ‘संवादको माध्यमबाट समस्या समाधान गर्न सरकार तयार छ।तर, ढोका बन्द गर्ने काममा कोही नलाग्नुस्।’
प्रदेशलाई बलियो बनाउन कर्मचारी प्रशासनलाई मजबूत बनाउन सरकार लागिपरेको भए पनि केही कर्मचारी अदालत जाने प्रवृत्तिका कारण कर्मचारीको रिक्तताको प्रश्न गम्भीर रुपमा उठेको उनले बताए।
‘हाम्रा साथीहरु अदालत धाएकै कारण कर्मचारीले जुन वृत्तिविकासको अवसर पाउने हो, त्यो ढिलाइ भयो’,उनले भने, ‘अवसरलाई वञ्चित गर्न कर्मचारी साथीहरु नै लाग्यौं। ती नमिलेका कुराहरु मिलाउन सकिन्थ्यो, तर कर्मचारी साथीहरु ढोका नै बन्द गरेर लाग्यौं।’

