


भैरहवा,३०चैत। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली शनिवार भैरहवा आएको छ। आगामी मे महिनामा हुने विश्वकप एशिया छनौटको खेलको तयारी गर्नका लागि महिला क्रिकेट टिम भैरहवामा आएको हो। दोस्रो चरणको
इन्दु बर्माको कप्तानीमा भैरहवा पुगेको टिमको आइतबारदेखि बैशाख १७ गतेसम्म बन्द प्रशिक्षण हुने नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासले बताए ।

रुपन्देही क्रिकेट संघका कोषाध्याक्ष निरजप्रताप खाँणका अनुसार २६ सदस्यीय महिला क्रिकेट टोली भैरहवा आएका हुन् । ‘भैरहवामा यसअघि पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भएको थियो। लगत्तै बन्द प्रशिक्षणका लागि महिला टिम पनि आएको छ’, उनले भने,‘यस क्षेत्रका लागि सकारात्मक सन्देश हो ।’
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने बन्द प्रशिक्षणपछि छनौटका लागि नेपाली टिम थाइल्याण्ड प्रस्थान गर्नेछ। रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले राष्ट्रिय टिमको बन्द प्रशिक्षण भैरहवामा हुँदा यसले रुपन्देही र आसपासको क्रिकेट क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए ।
‘सिद्धार्थ रंगशाला पछिल्लो समय राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि रोजाइ बनेको छ’, उनले भने, ‘निरन्तर राष्ट्रिय पुरुष र महिला टिमको बन्द प्रशिक्षण भइरहँदा भोलिका दिनमा यहाँको मैदानको विकासमा समेत सरकारको ध्यान बढी केन्द्रित हुने हाम्रो विश्वास छ ।’

