
भैरहवा,३१चैत। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पताल (यूसीएमएस) मा एकदिने आधारभूत जीवन सहायता तथा श्वासप्रश्वास व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
अस्पतालको एनेस्थेसिया तथा सघन उपचार विभागको आयोजनामा कार्यशाला भएको यूसीएमएस प्रशासनले जनाएको छ। कार्याशालामा स्वास्थ्य संस्थाको पहुँच बाहिर आकस्मिक कोही व्यक्ति अचेत भएको अवस्थामा तत्कालका लागि गर्नुपर्ने स्वास्थ्य उपचार र सुरक्षित रुपमा अस्पतालसम्म पुर्याउने विषय बारेमा प्रशिक्षण दिइएको यूसीएमएसका सूचना अधिकारी सुशील गुरुङले बताए।
Advertisement

Advertisement
Advertisement

यूसीएमएसका प्राचार्य तथा एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख प्रा.डा.लक्ष्मी पाठकको सभापतित्वमा सम्पन्न कार्यशालामा एनेस्थेसिया विशेषज्ञ डा.विजय यादव, डा.आनन्द कुमार अग्रहरी, डा.मृगेन्द्र पौड्याल र डा केशव अधिकारीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए।
यस्तै एनेस्थेसिया विभाग अन्तर्गतका आवासीय चिकित्सकहरु डा.स्वस्तिका अधिकारी, डा.मिक्की कौशल्या, डा.आशिष रेग्मी र डा.सौरभ मिश्राले कार्यशालाको व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए।

कार्यशालामा सहभागीहरुले व्यक्तिगत रुपमा ‘मेडिकल मेनिकिन’मा सिकाईका साथै पावर प्वाइन्ट तथा मिडिया प्रस्तुति, व्यवहारिक रुपमा सिकाई, तालिम अघि र पश्चात् मूल्यांकन विधिद्वारा परिक्षार्थीको जाँच गरिएको थियो। कुल ३६ जना सहभागी रहेको कार्यशालामा यूसीएमएस शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुका अतिरिक्त सिद्धार्थनगर सिटी अस्पताल र मेक्स अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहेको थियो।
कार्यशालाका उत्तीर्णहरु परिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको प्रा.डा.लक्ष्मी पाठकले बताइन् । सहभागी स्वास्थ्यकर्मी दिलीप जैसवालले अत्यन्त व्यवस्थित वातावरणमा सम्पन्न कार्यशाला मार्फत जीवनउपयोगी ज्ञान हासिल गरेको र यस्ता कार्यशाला आगामी दिन पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

